समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?


नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो ? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो ? यो बारेमा अलिकति छलफल हुन जरुरी छ ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटनाले हद नाघेको अवस्था छ । त्यसअघि र त्यसपछि पनि लगातार दैनिकजसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । के समाजमा यसखाले अपराध बनोवृत्तिमा बढोत्तरी भएकै हो ? हो भने कारण के हुन सक्छ ? दोष कसको ? सरकार, प्रविधि, समाज, शिक्षा को कति जिम्मेवार ? यो गम्भिर खोजीको विषय हो ।

त्यसै गरी लैंङ्गिक हिंसाका घटना बढेका हुन् ? महिलाले आफू श्रीमान् वा परिवारबाट पीडित भएको र न्याय दिलाई पाउँ भन्ने उजुरी बढेका छन् । श्रीमान् श्रीमतीको सम्बन्ध विच्छेदका घटना संख्या ह्वात्तै बढेका छन् । छुवाछुत, विभेद र जातीय अपमान भएको भनेर उजुरी बढेका छन् । यी र यस्ता सूचनालाई केलाउने हो भने यस्तो लाग्छ कि हाम्रो समाज भयङ्कर अराजकताको बाटोतिर गइरहेको छ । नैतिकता, सामाजिक मूल्य, मान्यता, पारिवारिक हार्दिकता र मेलमिलाप, सामाजिक न्याय सबै हराउँदै गएर भयङ्कर संकटतिर समाज उन्मुख भएको हो कि जस्तो लाग्छ । के साच्चै त्यस्तै भएको हो ?

मेरो बुझाइमा नेपाली समाज २०४७ सालभन्दा पहिले लामो समयसम्म मुर्दा शान्तिमा रहेको थियो । पञ्चायती शासनमा होस् वा राणाकालिन समयमा, समाजले सबै प्रकारका विभेद, अन्याय, अत्याचार, उत्पिडन, दमन सहेर बसेको थियो । यसलाई राजनीतिले संरक्षण गरेको थियो । राजनीतिका आडमा कानूनले संरक्षण गर्यो । पञ्चायती समयमा जातीय विभेद विरुद्ध कानून त बन्यो तर प्रभावकारी कार्यान्वयन हुँदै भएन । सामाजिक चलनको दवावमा कथित उच्च जातिले कथित तल्लो जातिमाथिको सदियौंदेखिको चरम विभेदले समाजमा एकछत्र राज गरिरह्यो ।

कानून परिवर्तन सजिलो कुरा हो । त्योभन्दा कठिन कानूनको कार्यान्वयन गर्न हुन्छ । कानूनको कार्यान्वयनभन्दा झन् कठिन सामाजिक मूल्य मान्यता बदल्न हुन्छ ।

समाजमा व्याप्त छुवाछुत र जातीय विभेद देखिने किसिमको विभेद हो । त्यस्तै लैंगिक विभेद र एक हदसम्मको महिला हिंसा पनि देखिने विभेद हो । तर, जुनसुकै उमेरका महिला (बालिका, बृद्धसमेत)–मा हुने यौनजन्य हिंसा समाजको सतहमा सजिलै नदेखिने, देखिहाले पनि नदेखेजस्तो गर्ने, थाहा नपाएजस्तो गर्ने, परिवारले नै लुकाउने, छिपाउने प्रकृतिको अपराध हो । परिवारबाट उम्किहालेछ भने समाजले लुकाउने गर्छन् । कसैले साहस गरेर परिवार र समाजभन्दा पर राज्यका निकायमा उजुरी गर्न पुगेमा आफैंले प्रमाण पुर्याउनु पर्ने, समाजमा आफैंले उत्ताउली, चरित्रहीन, खानदानको नाक काटेको पगरी गुथेर आफैं, परिवार र समाजबाटै बहिस्करणमा पर्नुपर्ने अवस्था हटिसकेको छैन ।

यौनजन्य हिंसा र बलात्कारका घटनामा पीडितभन्दा पीडकले आपूmलाई समाजको श्रेष्ठ, बलशाली, धनवान्, पुरुषत्वको अहम्, पहुँच भएको, उच्च वर्गको भएको देखाउँछ र त्यो हो पनि । पीडितले सधैं आफूलाई कमजोर र निरिह भएको महशुस गर्छन् । सामाजिक मूल्य मान्यताहरुले पीडितलाई सधैं कमजोर बनाएको छ । त्यसैले पीडितले परिवार, समाज र राज्यको दरिलो सहयोग नपाउँदासम्म आफूले भोगेको पीडा एवम् हिंसाको घटना खुलेर सतहमा ल्याउन सक्दैनन् ।

हामी महिलालाई जोगिनु पर्छ भनेर अर्ती दिन्छौं । बहुदल आएलगत्तै अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्याय समक्ष महिला हिंसा बढेको हुँदा शान्ति सुरक्षाको बलियो प्रबन्ध गरी पाउँ भन्न जाने महिला टोलीलाई गृहमन्त्री आफैंले खुर्सानीको धुलो बोकेर हिँड्नु भन्ने सुझाव दिएको प्रसंग निकै चर्चित बन्यो । अधिकांश बालिकाहरु परिवार, आफन्त, छिमेकी, सहकर्मीहरुबाटै यौनजन्य हिंसामा परेका छन् । उनीहरुले आफू हिंसामा परेको कुरा परिवारमा सुनाउँदा परिवारले उल्टै गाली गर्ने, उत्ताउली न हो, आफू जोगिनु पर्छ भन्ने गरिन्छ । हिंसा गर्नेले पहिलोपटक गरेको आधा हिंसाको कतैबाट प्रतिवाद नभएपछि अर्को पटक, अर्को दिन हिंसाको मात्रा बढाउँछ । थोरै पीडितले मात्रै अति भएपछि मुख खोल्छन् । त्यो पनि परिवारमा ।

परिवारले यसलाई इज्जतको विषय बनाउँछ र दवाउन प्रयास गर्छ । समाज पीडित र पीडित परिवारलाई कर्के नजरले हेर्छ । समाजका अगुवा, राजनीतिक व्यक्तित्व, राज्यको अङ्ग, प्रहरी जसले उजुरी लिएर पीडितलाई न्याय दिनुपर्ने हो ऊ आफैं शक्तिशाली पीडकको पक्षमा उभिन्छ र मिलापत्र गराउने, क्षतिपूर्ति दिलाउने, माफी मगाउने काममा सक्रिय हुन्छ । निरीह पीडितको पक्षमा आपूm बाहेक कोही छैनन् जस्तो हुन्छ ।

यौन हिंसामा पर्ने धेरैजसो समाजको तल्लो सतहमा बसेर जीवन निर्वाह गर्ने महिला र बालिका पर्छन् । उनीहरुको राजनीतिक, सामाजिक, आर्थिक पहुँच कमजोर हुन्छ । बोल्नु पर्नेहरु चुप लाग्छन् । बोलिहाले शक्ति हेरेर बोल्छन् । पीडितलाई थेगिनसक्नुको दवाव, डर, धम्की, प्रलोभन थोपरिन्छ । हाम्रो समाजको यथार्थ यही नै हो ।

समाजको सतहमुनी दैनिक कति नाबालिका, बालिका, किशोरी, बयस्क, बृद्ध यौन हिंसामा परेका होलान्, बलात्कारको शिकार भएका होलान् । तीमध्ये कति घटना परिवारसम्म पुगे होलान्, परिवारले समाज हुँदै न्यायको लागि राज्यको ढोका ढक्ढक्यायो होला ? जुन पीडितहरु हद भएपछि साहस गरेर न्यायका लागि अगाडि आए तीमध्ये कतिले न्याय पाएका होलान् । जसले न्याय पाए तिनले समाजको कस्तो व्यवहार भोग्दैछन् होला ? के तिनलाई समाजले स्याबास् भनेको छ ? पीडक सामाजिक बहिस्कारणमा परेको छ ? कानूनी कठघरामा सबै पीडक उभिनु परेको छ ? मेरो विचारमा यक्ष प्रश्न यहीँनेर छ ।

अहिले के भएको हो ? यसबारेमा अलिकति विचार गरौं । पहिला निर्मला पन्तकै विषयमा कुरा गरौं । बालिका निर्मला पन्तको बलात्कार गर्ने र हत्या गर्ने शक्तिशाली थियो भन्नेमा कुनै दुईमत रहेन । यद्यपि यो लेख तयार पार्दासम्म कानूनले हत्यारा तोक्न बाँकी नै छ । हत्यारा तालिमप्राप्त थियो, हत्यारा धुर्त थियो, हत्यारा शक्तिशाली थियो । त्यसैले उसले सबै प्रमाणहरु योजनावद्ध रुपमा नष्ट गर्यो । अनुसन्धानमा खटिएका सबैलाई प्रभावित पार्यो, पार्न कोशिस गर्यो । निर्मला पन्तलाई न्याय दिलाउन र हत्यारालाई कानूनको कठघरामा उभ्याउन पूरै कञ्चनपुर नउभिएको भए के हुन्थ्यो होला ? अनुमान गर्न सक्छौं ।

अहिले पनि समाजमा भएका सबै यस्ता हिंसाका घटना सतहमा आएका छैनन् भनेर सहजै अनुमान लगाउन सकिन्छ । उता कञ्चनपुरको घटनामा पीडितलाई न्याय दिलाउन र पीडकलाई कठघरामा उभ्याउन पूरा देश एक भएर उभिएको थियो, यता प्रदेश दुईमा भएको बलात्कारको घटनामा मिलापत्र गराउन प्रदेश मन्त्रीको घरमा पञ्चायत बसेको समाचार बाहिर आएको थियो ।

मेरो बुझाईमा अहिले किन यस्ता धेरै घटना सतहमा आए भने वर्तमान केपी ओली नेतृत्वको सरकारले बलात्कारका घटनामा शून्य सहनशिलताको नीति अपनाएको छ । कुनै पनि प्रहरी कार्यालयसम्म पुगेको बलात्कार र महिलामा हुने यौनजन्य हिंसामा मिलापत्र गर्ने, क्षतिपूर्ति दिने र पीडकलाई उन्मुक्ति दिने चलनको अन्त्य गर्ने घोषणा गरेको छ । मिलापत्र गर्ने प्रहरी कार्वाहीमा पर्नेछन्, परेका छन् ।

त्यसैले कुनै पीडितले, पीडित परिवारले न्यायका लागि राज्यको निकायमा पुगेर उजुरी गरेमा त्यो समाज, राजनीति, पहुँच, धनवान्, बलवान् कुनै पनि नाममा पीडकले उन्मुक्ति पाउने छैनन् । राज्यले सहयोग गर्छ भन्ने विश्वास बढेका कारणले बलात्कारका घटनामा पीडित र पीडित परिवारको मनोबल केही बढेको छ । त्यसैले घटनाहरु सतहमा देखिन थालेका हुन् । केही समय यो अलि बढी नै देखिन सक्छ । जब अपराध गर्नेले सजाय पाउनै पर्छ भन्ने बोध व्यापक बन्दै जान्छ तब अपराधीहरुको मनोबल पक्कै घट्ने छ ।

बलात्कारीहरुको सामाजिक, आर्थिक, राजनीतिक हैसियत, उनीहरुको पहुँच हेरेर सजायबाट जोगाइदिने, इज्जत धानिदिने परिवार, समाज, राज्यका निकायको मानसिकता बदलिन जरुरी छ । बदलिँदै छ चलन र मान्यताहरु । अब कुनै बालिका, किशोरी, वयस्क, बृद्ध कसैमाथि पनि यौनजन्य हिंसा भएको कुरा खुलासा गर्नेलाई गाली गर्ने, आफैं जोगिनु पर्छ भन्ने, आफ्नो र कुलको इज्जतको ख्याल गर् भनेर हप्काउने, समाजलाई लौ न मिलाई दिनुपर्यो भनेर गुहार्ने कार्य बन्द गर्नुपर्छ । यसको साटो प्रहरीमा उजुृरी गर्नुपर्छ । प्रहरीले उजुरी लिन आनाकानी गरे त्योभन्दा माथि खबर गर्नुपर्छ । यस्तो साहस गर्नेलाई सलाम गरौं । हौसला प्रदान गरौं ।

जहाँसम्म निर्मलाको बलात्कार र हत्यामा प्रहरीले गरेको लापरबाहीको कुरा छ, त्यो सिङ्गो प्रहरी संगठनको चरित्र होइन । जसले उजुरी लिन आनाकानी गरे, समयमै सुनवाई गरेनन्, बलात्कार र हत्याका प्रमाण नष्ट गर्न भूमिका निभाए, शक्तिको दुरुपयोग गरे, ती सबैजना सजायका भागिदार बन्नै पर्छ । जसले अपराध गरेको छ त्यो जति नै शक्तिशाली भए पनि न्यायको कठघरामा उभिनै पर्छ । निर्मला र उनको परिवारले न्याय पाउनै पर्छ । सरकार हाम्रो रक्षक हो, अपराधी उम्कन पाउँदैनन् भन्ने विश्वास जनतामा जगाउन सरकार सफल हुनुपर्छ ।

अहिले जसरी निर्मला पन्त र उनको परिवारप्रति समाजको सहानुभूति छ, उनीहरुप्रति जुन सम्मान छ, त्यो बलात्कारको पीडा भोग्न बाध्य सबै निर्मला र उनको परिवार प्रति समाजको दृष्टिकोण सम्मानजनक हुनुपर्छ । जसरी निर्मलाका बलात्कारी र हत्यारालाई सजाय दिलाउन समाज पूरै एकजुट भएको छ, त्यसरी नै सबै बलात्कारी र दूव्र्यवहार गर्नेहरुलाई कानूनले तोकेको सजाय दिलाउन प्रयास गर्नुपर्छ, एकजुट हुनुृपर्छ । पहुँच र प्रभावको आधारमा मिलापत्र र क्षतिपूर्तिको कुरा हुनु हुँदैन ।

          September 22, 2018 2:48 pm | टप,विचार/ब्लग
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...