यसरी फेर्न सकिन्छ नेपालको मुहार

5 months अगाडी

करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व यही अवस्थामा रहने छैन ।’

त्यस पछि म त्यसको औपचारिक पुष्टि हुने सम्भावनाहरुको खोजी गर्न थालेँ । यसै क्रममा मैले थाहा पाएँ, भारतमा सन् २०२५ देखि खानेपानी शुन्य हुँदैछ । जमिन मुनिको कुनै पनि पानी खानयोग्य रहने छैन र हिमालबाट बगेर आएको एकमात्र नदी गंगा, पहाड कटेर फाँटसम्म पुग्दा धेरै दुषित भइसकेको हुनेछ भन्ने पनि सुनेँ ।

यही क्रममा करीब ३ वर्ष पहिले मनकामना कलेज बिर्तामोडमा मेची क्याम्पसका पूर्व प्रमुख तथा इतिहासका प्राध्यापक खगेन्द्र प्रसाईं सरसँग मेरो भेट भयो । मैले मेरो कौतुहलतालाई प्रष्ट पारिदिन उहाँलाई सोधेँ । उहाँले त्यसलाई अझ प्रस्ट पार्न, करिब सन् १९२५ तिर जवाहरलाल नेहरुले भारतका विज्ञहरुसँग बसी भारतको खानेपानीको विषयमा बुझ्दा अबको १०० वर्ष पछि देशमा खानेपानी नहुने र त्यसको वैकल्पिक स्रोत नेपाल हो भनेका थिए रे ।

त्यसैगरी १९७५ मा इन्दिरा गान्धीले त्यसलाई फेरि दोहोर्याएको कुरासमेत खगेन्द्र सरले बताउनुभयो । त्यसबेला पनि करिब ५० वर्षपछि भारतमा खानेपानीको स्रोत नहुने र त्यसको एकमात्र विकल्प नेपाल हो भनेकी थिइन् । अझ, उनले त मेरा बुवाले त्यसबेला नेपाल र भुटानलाई भारतमा नगाभेर गल्ती गरेको कुरासमेत भनेकी थिइन् भनेर सुनियो ।

उहाँले भन्नुभयो ‘अब हामीलाई भारतबाट हुने खतरा भनेको खानेपानी कै लागि हुने हो’ भन्नुभयो । आज आएर हेर्दै गर्दा अपर कोशी बाँधको सम्झौता त्यसैसँग मिल्न आउँछ । अब म के भन्न चाहन्छु भने हाम्रा सम्पूर्ण नदीका पानी त भारत नै छिरेका छन् तर त्यहाँ पुग्दै गर्दा जमीनको सतह धेरै तल, पानीको फैलावट धेरै र केही बढी दुषित भएको छ । त्यो पानी नेपालको चुरेबाट नेपाललाई केही रकम तिरेर भारत लान चाहन्छ भने हामीले आपत्ति मान्नु हुँदैन ।

यहाँ म अर्काे सन्दर्भ पनि जोड्न चाहन्छु । मैले धेरै साथीहरुलाई काठमाडौंभन्दा नयाँदिल्ली पश्चिम–उत्तरमा पर्छ भन्दा मलाई पागलसमेत बनाए, कसैले बिर्तामोडबाट पनि दक्षिण–पूर्वसमेत भने । हो, काठमाडौंभन्दा दिल्ली उत्तरै पर्छ ।

अब भारतको नक्सलबाट नेपालको चुरे हुँदै दिल्ली जोड्ने बाटो र रेलमार्ग बनाउने, नेपालका सबै शहरहरुमा लिङ्करोड जोड्ने र भारतको बंगाल राज्यलाई केन्द्र मानेर पूर्वपट्टी भारतका नौवटा राज्य (बंगाल, सिक्किम, आसाम, अरुणाचल, मेघालय, मिजोरम, नागाल्याण्ड, मणिपुर र त्रिपुरा) सिधा दिल्ली पहुँचमा स्थल मार्गबाट कति र आकाश मार्गबाट कति समय, श्रम तथा इन्धन बचत हुनसक्छ आफैं अनुमान लाउन सकिन्छ । यसका लागि भारत नेपाललाई कति रकम तिर्न तयार हुनसक्छ ? तसर्थ, खानेपानी, स्थल यातायात र हवाई मार्गका लागि दुवै देशका प्रतिनिधि बसेर वार्ता गर्ने हो भने नेपाललाई समेत ठूलो अवसर प्राप्त हुने सम्भावना देखिन्छ ।

नेपालका सबै नदीहरुको पानी पिउन योग्य छन् । प्रायः सबै नदीहरु हिमालबाट आएका छन् । नेपालको चुरेबाट उत्पादित पानीलाई भारत लैजान चाहन्छ । उसले चुरेबाट बाटो बनाएर गाडी, रेल, हवाई मार्गको समेत प्रयोग गर्दै बाटो र पानीको रकम तिर्ने हुँदा यो मनग्य आम्दानीको स्रोत हुनेछ ।

यसमा नेपालले पनि आफ्नो देशको स्वार्थ राखेर वार्ता गर्न सक्छ । यसमा नेपालीलाई के आपत्ति रहन्छ ? अब रह्यो हाल नेपालभित्र मात्र गुड्ने रेलको कुराः जसमा मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म मात्र यात्रा गर्ने यात्रु दैनिक कति होलान् ! साथै बीचमा चढ्ने र उत्रने यात्रु कति होलान् ? यसमा सायद हाप्तामा एक दुई रेल कुद्ला जसले हाम्रो आवश्यकताको कति पनि भाग पूरा गर्न सक्दैन तर त्यसलाई दिल्लीबाट काठमाडौं, काठमाडौंबाट गुहाटी तथा सिधा दिल्लीबाट गुहाटी भएमा दैनिक कम्तिमा पाँच÷सात वटासम्म रेल चल्न सक्छ । हामीलाई जहाँबाट जहाँसम्म पनि जान आउन सहज हुन्छ ।

यति गर्दैगर्दा भारतलाई फेरि अर्काे सफलता पनि प्राप्त हुन्छ । चुरेको सडक यातायातबाट एक किलोमिटर बाटो उत्तर खनेपछि बिजुली निकाल्न सकिन्छ । फेरि त्यसको एक किलोमिटर उत्तरमा अर्काे विजुली पनि निकाल्न सकिन्छ । यसरी नै एउटै नदीबाट पाँच÷सात ठाउँमा विजुली निकाल्न सक्ने नदीहरु हामीसँग सयौं छन् । यी सबैलाई मिलाएर एउटै प्याकेजमा वार्ता गरी नेपालको मुहार फेर्न कति पनि वर्ष लाग्दैन ।

मैले यसो भन्दै गर्दा तँ भारत परस्त भइस् पनि भनेका छन् साथीहरुले । भारतले केही गर्दैन चाइनासँग सम्बन्ध विस्तार गरे सबै थोक चाइनाबाट नै प्राप्त हुन्छ समेत भन्ने कुराहरु आए । तर मलाई त्यस्तो लाग्दैन । नेपालले चाइना र भारत दुवै देशसँग मित्रता कायम राख्नै पर्छ । चाइना, नेपाल र भारत तीनै देशको सुरक्षाको प्रत्याभूति व्यवस्थापन गर्न तीनै देशका सुरक्षाविद्हरु बसेर एउटा टुंगोमा पुग्न जरुरी छ । चाइनालाई नेपालको भूमि प्रयोग गरी भारतसँग व्यापार बढाउनु छ । उसले भारतसँग सम्बन्ध बिगारेर नेपालसँग मात्र सम्बन्ध सुधार गर्न चाहँदैन ।

चीन त व्यापारिक मुलुक हो, त्यसले गर्दा उसले भारतका करिब एक अर्ब ५० करोड जनतासँगको व्यापार छोडेर ३ करोडभन्दा कम नेपाली जनतासँगको व्यापार गर्दैन । तर भारतलाई आप्mनै देशको एक कुनाबाट अर्काे कुनासम्म पुग्ने सहज बाटो र खानेपानी चाहिएको छ । यसले गर्दा भारतको सम्बन्ध नेपालको मधेससँग मात्र नभएर सिधै चुरेसँग पनि हुने, नाकाबन्दी नहुने र नेपालमा पनि भारतीय रुपैयाँको सहजता हुने समेतका कारणहरुले गर्दा यो मौका नेपालले छोड्नु हुँदैन । अस्तु ।

(लेखक दाहाल मनकामना कलेज बिर्तामोडका सहायक प्रमुख हुन् ।)

          August 21, 2018 2:37 pm | टप,विचार/ब्लग
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...