‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’


तीन वर्ष अघि ‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्त सन्तोष अहिले सफलताको शिखरतिर उक्लिँदैछन् । तीन वर्षको अन्तरालमा १०–१२ वटा राम्रा गीतमा आवाज भरिसकेका सिमान्तको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत निकै चर्चित पनि छ्र ।

गीत गाउने क्रममा सिमान्तले नेपालका विभिन्न जिल्ला र विदेशसम्मको यात्रा तय गरिसकेका छन् । स्टेज परफर्मेन्सको लागि निकै माहिर मानिन्छन् उनी । झापाको बनियानीका सन्तोष घिमिरे सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि सिमान्त सन्तोषका नामले आफूलाई परिचित गराउन तल्लिन छन् । छोटै अवधिको गायन यात्रामा सिमान्तले सुन्दरादेवी म्यूजिक अवार्ड नोमिनेसनमा ‘इन्करेज्मेन्ट अवार्ड’ पनि हात पारेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा यिनको भविष्य निकै सुन्दर देखिन्छ । यिनै गायक सिमान्त सन्तोषसँग साझामञ्चका लागि सञ्जु शिवाकोटीले केहीबेर कुराकानी गरेकी छन् ।

धेरै गीत गाउनु भएको छ, सिमान्त सन्तोष भनेर चिनाउने गीत चाहिँ कुन हो भन्ने ठान्नुहुन्छ ?

वास्तवमा भन्नुपर्दा सिमान्त सन्तोष भनेर चिनाउने गीत अहिलेसम्म आएको छैन । बजारमा आएका र यूट्युवमा आएका गीतहरु मध्ये स्वप्निल बरालको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत धेरै दर्शक स्रोताले मन पराउनु भएको छ । सिमान्त सन्तोष भनेर चिनाउने गीत नै चाहिँ सायद गाएको छैन तर पनि त्यसका लागि सिर्जनात्मक पहल र प्रयास गरिरहेको छु । र, त्यो समय पनि अब छिट्टै आउनेछ भन्ने विश्वास दिलाउँछु ।

सांगीतिक क्षेत्रमा आउनको लागि प्ररेणाको स्रोत कसलाई मान्नु हुन्छ ?

स्कूल पढ्दा गाउँ घरमा कहिलेकाहीँ स्टेजमा गीत गाउँदा तेरो स्वर राम्रो छ, गीत गा.. न.. भनेर हौसला दिने साथीहरुमध्ये चन्द्र बिकलाई यसको श्रेय दिन्छु । त्यसपछि औपचारिकरुपमा संगीतकार रमेश कँडरियाको हात छ । उहाँले नै गीत रेकर्ड गराउन भनेर स्टुडियोसम्म लाने र गीत रेकर्ड गराउन धेरै सहयोग गर्नुभयो । र, अहिलेसम्म सबैको साथले गर्दा संगीत क्षेत्रमा लागिरहेको छु ।

मनपर्ने गायक गायिकाको नाम लिनुपर्दा कसको लिनुहुन्छ ?

आफूभन्दा अग्रजहरु सबै मनपर्छ । सिकाइको दौरानमा चाहिँ नारायण गोपाल, रामकृष्ण ढकाल, कर्ण दासको गीतहरु बढी गाउँछु र मन पनि पर्छ । पुरानो गायिका तारादेवी र अहिलेको गायिकामध्ये अन्जु पन्तको गायन मनपर्छ्र ।

व्यावसायिक तरिकाले सांगीतिक क्षेत्रलाई अगाडि बढाउन सकिँदैन भन्ने गरिन्छ नि ! यस विषयमा तपाईंको बुझाई ?

पहिलो कुरा त संगीत व्यावसायिक नै होइन । संगीत एउटा साधना हो । अर्काे कुरा साधना गर्दै जाँदा मान्छेले त्याग तपस्या कुनै पनि क्षेत्रमा दिन्छ भने फलस्वरूप त्यसबाट जीविकोपार्जन गर्ने क्षमता हुन्छ । अर्को कुरा कुनै पनि क्षेत्रमा अब्बल दर्जामा पुगेपछि त्यसबाट रिटर्न त हुनै पर्यो नि ।

जुनसुकै क्षेत्रमा पनि सफल हुनुपर्यो । एक नम्बर, दुई नम्बर, तीन नम्बरमा आउनु पर्यो । तर आफूले व्यावसायिक बनाउने होइन, सफल हँुदै जाँदा आफैं व्यावसायिक बन्दै जान्छ । हामीले देखेका छौं, गीत गाएरै घर गाडी जोडर सुखका साथ जिन्दगी बिताउने स्रस्टाहरु पनि हुनुहुन्छ । संगीत क्षेत्र पनि व्यावसायिक बन्छ । तर आफैंमा व्यावसायिक हुँदैन, सफल हुँदै गएपछि आफैं व्यावसायिक बनिन्छ भन्ने मेरो बुझाई छ ।

सांगीतिक यात्राको शुरुवात कहाँबाट गर्नुभयो, मोफसल कि राजधानीबाट ?

शुरुमा त झापाको बनियानीबाट नै गायन यात्रा सुरु गरेको हो । औपचारिकरुपमा, फराकिलो अवधारणा लिएर चाहिँ काठमाडौंबाटमात्र गर्न सकिँदो रहेछ, उतै गइयो ।

कलाकारलाई स्टेज चाहिन्छ भनिन्छ, तपाईंले कत्तिको पाउँदै हुनुहुन्छ ?

राम्रो तवरले स्टेज पाइरहेको छु । पूर्वमा त सायद नपुगेको ठाउँ नहोला । पश्चिममा स्याङ्जा, नुवाकोट, धादिङ पुगेर परफमान्स दिएको छु । विदेशको कुरा गर्दा भारतको आसाम, कतारसम्म पुगेको छु । स्टेज पाउँदा र शुभेच्छुकहरुले बोलाउँदा आफूलाई भाग्यमानी ठान्छु ।

यति धेरै गीत गाइसक्नु भएको रहेछ । आफूलाई कत्तिको सफल गायक भएको ठान्नु हुन्छ ?

तीन वर्षको छोटै गायन यात्रामा सुन्दरादेवी म्यूजिक अवार्ड नोमिनेसनमा मैले इन्करेज्मेन्ट अवार्ड पाएँ, त्यो मेरो पहिलो अवार्ड हो । अहिलेको परिप्रेक्ष्यमा नेपालको सांगीतिक क्षेत्रमा रहेका गायक, गायिका र संगीतकारहरु एवम् अग्रजहरुसँगको मेरो सम्बन्ध, सामिप्य प्राप्त हुनु पनि म सफल भएको मान्छु ।

संगीत के रहेछ तपाईंको विचारमा ?

संगीत एउटा साधना हो । तपस्या हो । एउटा ब्रत हो । अहिले मैले बुझे अनुसार संगीत महासागर हो । जति डुब्यो त्यति डुब्न मन लाग्ने, जब डुब्यो त्यसैमा डुबिरहन मन लाग्ने । जति पौडी खेल्यो त्यति नै खेलिरहन मनलाग्ने । नशा नशामा संगीत बग्छ, त्यही रहेछ संगीत ।

अन्त्यमा अबको योजना के छ ?

कस्तो गीतले स्रोता दर्शकको मन छुन्छ भन्ने अनुसन्धान गरी त्यस्ता गीतको तयारीमा छु । तीजपछि लगत्तै २–३ वटा गीत गाउने र सार्वजनिक गर्ने तयारीमा छु ।

          August 17, 2018 1:32 pm | अन्तर्वार्ता,कला/मनोरंजन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...