प्रदेश १ का अर्थमन्त्रीसँग झापाली उद्योगीका यस्ता माग

6 days अगाडी

भद्रपुर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन् ।

तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्वोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन् ।

बिहीबार झापा आएका मन्त्री आङबोले भद्रपुरमा उद्योगी व्यवसायीहरुसँगको भेटमा भने ‘अहिलेको तीनै तहका सरकारको अर्जुन दृष्टि भनेको आर्थिक समृद्धि हो र त्यो हासिल गर्न उद्योग वाणिज्य क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासबिना सम्भव छैन ।’

झापा उद्योग संघले आफ्नै सभाहलमा संयोजन गरेको स्वागत सम्मान तथा घेटघाट कार्यक्रममा भद्रपुरका प्रतिष्ठित उद्योगीहरुले उद्योग क्षेत्रले सामना गर्नु परिरहेका समस्याका बारे मन्त्री आङ्बोलाई अवगत गराएका थिए ।

संघका कार्यवाहक अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले नयाँ श्रम ऐनले चिया उत्पादकहरुलाई मार परेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे ।

संघका पूर्व अध्यक्ष चण्डी पराजुलीले अझै पनि उद्योगीहरु कतैकतै दोहोरो करको मारमा परिरहेको गुनासो गरे । उनले मेचीनगर नगरपालिकाले आयात तथा निर्यातजन्य वस्तु बोकेका ट्रकमा ‘प्रदुषण कर’ शीर्षकमा कर लिन थालेको र त्यसबाट उद्योगीहरुलाई असर परिरहेको गरनासो गरे ।

संघका प्रेस सल्लाहकार गोपाल गिरीले सञ्चालन गरेको कार्यक्रममा मन्त्री आङ्बोले केही स्थानीय तहहरुले त्यस्ताखाले कर लगाएको आफूले पनि सुनेको भन्दै त्यस्ता कर हटाउन पहल गर्ने आश्वासन दिए ।

मन्त्रीसँगको भेटघाट कार्यक्रममा झापा क्षेत्र नं ३ अन्तर्गत समानुपातिकतर्फका १ नै प्रदेश सदस्य ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष परशुराम अग्रवाल, उद्योग संघका उपाध्यक्ष दिपेश ढकाल, चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीलगायत भद्रपुर क्षेत्रका चिया उद्योगी, चामल उद्योगी, ग्यास तथा सिमेन्ट उद्योगीहरुको सहभागिता थियो ।

          August 10, 2018 5:56 pm | अर्थ


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...