डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण

2 weeks अगाडी

काठमाडौं । पाठेघर क्यान्सर महिलाहरूको प्रमुख समस्या बन्दै गइरहेको छ । पाठेघर क्यान्सरसम्बन्धी आधिकारिक तथ्याङ्क नभेटिए पनि सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट सेवा लिनेमा आधाभन्दा धेरै क्यान्सरका बिरामी परेको तथ्याङ्कले देखाएको छ ।

यस कोषबाट २० हजार २ सय १८ जना बिरामीले सेवा लिइसकेका छन् । तीमध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामीले विपन्न नागरिक कोषबाट सहयोग लिएका छन् । यसले के जनाउँछ भने क्यान्सरका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ ।

क्यान्सर उपचारका लागि सेवा लिएकाहरूको तथ्याङ्कलाई विश्लेषण गरेर हेर्ने हो भने फोक्सोको क्यान्सरबाट पीडित हुनेको सङ्ख्या पहिलो नम्बरमा छ । त्यसपछि महिलामा हुने क्यान्सरहरू देखिन्छ । विकासित राष्ट्रहरूमा ओब्री, डिम्बासय, पाठेघरभित्रको क्यान्सर बढी देखिन्छ । तर नेपालमा भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा परेको छ ।

यसै सन्दर्भमा पाठेघरको क्यान्सर के हो, के कारण हुन्छ, यसका लक्षण, बच्ने उपाय र यसको उपचारका बारेमा स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टी श्रेष्ठ प्रजापतिले दिएको जानकारी उनकै शब्दमा ।

पाठेघरको क्यान्सर

पाठेघरको क्यान्सरलाई दुई किसिमबाट हेर्ने गरिएको छ । पाठेघरको भित्री भागमा हुने क्यान्सरलाई पाठेघरको क्यान्सर भनिन्छ भने पाठेघरको मुखमा भएको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
कुनै पनि क्यान्सर एकले अर्कालाई सार्न सक्दैन ।

तर पाठेघरमा हुने क्यान्सर भने सारेको जस्तै हो । पाठेघरमा हुने क्यान्सरको प्रमुख कारक भनेको एचपीभी भाइरसका कारणले हुने हो । ९० प्रतिशत क्यान्सर यो भाइरसबाट भएको देखिन्छ । यो भइरस यौन सम्पर्कको माध्यमबाट सर्ने गर्छ । यौन सम्पर्क हुँदा महिलाहरूमा एचपीभी भाइरस अनिवार्य रूपमा सर्छ । तर सबैलाई यो भाइरस सर्नेवित्तिकै सबैलाई क्यान्सर हुन्छ नै भन्ने छैन ।

धेरैजसो पाठेघरको मुखको क्यान्सर यो भाइरसबाट हुन्छ । सजक भएको खण्डमा पाठेघरको क्यान्सरबाट बच्न सकिन्छ । जस्तो एचपीभी भाइरसले १५ देखि २० प्रतिशत एडिनोकार्सिनोमा भन्ने हुन्छ, यसलाई स्क्रिनिङले पनि पत्ता लगाउन सक्दैन । एचपीभी भाइरसको यसमा रोल हुँदैन ।

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा १५ वर्ष अगाडि नै त्यसको लक्षण हामीले पत्ता लगाउन सक्छौँ । यो एउटा सामान्य स्क्रिनिङ टेस्टबाट थाहा हुन्छ । त्यसका लागि पाठेघरको मुखबाट निस्किने तरल पदार्थ जाँच गर्नुपर्ने हुन्छ । यस परीक्षणपछि पाठेघरको मुखको क्यान्सर हुन लागेको छ कि छैन भन्ने थाहा हुन्छ । यसबाट प्रिक्यान्सर स्टेजको पनि तेस्रो चरणसम्म पत्ता लगाउन सकिन्छ । यो स्टेजमै पत्ता लगायौँ भने क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ ।

क्यान्सर हुने प्रमुख कारणहरू

सूक्ष्म विषाणुले गर्भाशयमा सङ्क्रमण गर्नु, कम उमेरमा विवाह तथा यौन सम्पर्क गर्नु, २० वर्षभन्दा सानो उमेरमा बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, एकभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क गर्नु, यौनरोग तथा गुप्ताङ्गका दीर्घ रोगहरू, गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनु, चुरोट, बिँडी, खैनी, तमाखु र सुर्तीजन्य पदार्थको सेवन, यौन व्यवसायमा आबद्ध महिलामा एचपीभी भाइरस अन्य महिलामा भन्दा धेरै हुने भएको कारण यस्ता महिलाहरूमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

लक्षणहरू

पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क सुरु भएपछि यसले असर देखाउन सुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउने क्यान्सरका लक्षण हुन् । यो सुरुवातको अवस्थामा देखिने लक्षण हो । यस्ता लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनुपर्छ । यो परीक्षणले सङ्क्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

क्यान्सर हुने कुरामा पुरुषभन्दा महिलाहरू भाग्यमानी छौँ । कारण के हो भने महिलामा क्यान्सरको सुरुवाती अवस्थामा यसका लक्षणहरू देखा पर्छन् । तर महिलाको पाठेघरको डिम्बाशयको क्यान्सरमा भने लक्षण खासै देखिँदैन । पाठेघर र पाठेघरको मुखको क्यान्सरमा पहिलो चरणमा नै लक्षणहरू देखापर्छन्् । जस्तै, यौन सम्पर्कपछि महिलाको योनीबाट रगत बग्नु, पाठेघरको क्यान्सरको लक्षण हो । यस्तो समस्या देखिएको छ भने यो सामान्य होइन । यस्तो समस्या देखिएको खण्डमा तुरुन्त परीक्षण गर्न जरुरी छ ।

अर्काे महिनावारी सुकिसकेको महिलाको रगत बगेको छ भने पनि पाठेघरको क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा पाठेघरको भित्री तथा मुखको क्यान्सर हुन सक्छ । ४५ वर्ष पुगेको महिलाको एक वर्षसम्म नियमति महिनावारी हँुदैन भने यसलाई महिनावारी सुकेको अर्थात रोकिएको मानिन्छ ।

तर कहिले काहीँ रगतको देखियो भने क्यान्सरको प्रमुख कारण पनि हुन सक्छ । महिनावारी रोकिएको महिलाको पाठेघरको भित्री भागको तह ३ मिलिमिटरभन्दा कम हुनुपर्छ । तर परीक्षणको क्रममा धेरैको ४ देखि ६ मिलिमिटरसम्म देख्छौँ । यो अवस्था भने क्यान्सर छ छैन भन्ने कुराको बारेमा अनिवार्य परीक्षण गर्नुपर्छ ।

तल्लो पेट दुख्ने, यौन सम्पर्क नगरी अनावश्यक रगत बग्ने, गनाउने पानी बग्ने जस्ता लक्षणहरू पाठेघरको क्यान्सरका लक्षण हुन सक्छन् ।

नेपाली महिलाको कुरा गर्ने हो भने आफूले आफूलाई अन्तिम अवस्थामा मात्रै ध्यान दिन्छौँ । परिवार, श्रीमान, बच्चालाई केही भएको खण्डमा उपचारमा गर्छाैं तर आफूलाई समस्या हुँदा सामान्य रूपमा लिने हाम्रो बानी छ । जसले गर्दा क्यान्सर रोगीमध्ये ६० प्रतिशत अन्तिम अवस्थामा अस्पताल आउँछन् । ३० प्रतिशत सुरुवातीको अवस्थामा आउँछन् । तपाईं सुरुवातको अवस्थामा अस्पताल आउनुभयो भने शतप्रतिशत क्यान्सर निको हुन सक्छ ।

क्यान्सर भएपछि अप्रेसन गर्न डराउने हाम्रो प्रवृत्ति छ, यो गलत हो । म त भन्छु अप्रेसन गर्न पाउनु भाग्यमानी हो । अप्रेसनले जुन अङ्गमा समस्या देखिएको छ, त्यसलाई फाल्ने काम गर्छ । जसले गर्दा क्यान्सर अन्य अङ्गमा सर्न पाउँदैन् ।

उपचार विधि
महिलाको पाठेघरमा भएको क्यान्सरको उपचार विधि भनेको रोग लागेको भाग वा अङ्गलाई अप्रेसन गरी निकाल्ने हो । यसका साथै रेडियोथेरापी क्यान्सर भएका कोष–कोषिकाहरूलाई मार्न विकिरणको प्रयोग गर्ने गरिन्छ । यसका लागि ब्रेकिथेरापी उपकरणको प्रयोग गरी विकिरणको स्रोत गर्भाशयको मुख नजिक राखेर पनि उपचार गरिन्छ ।

अर्काे केमोथेरापी औषधिको प्रयोगद्वारा क्यान्सर भएका कोष–कोषिकाहरू नाश गरिन्छ । प्यालिएटिभ केयर रोगीको दुखाइ वा अन्य असुविधाहरू कम गर्न गरिने आवश्यक उपचार विधि हो । उपचार विधिहरूमध्ये एक वा एकभन्दा बढी बिरामी र रोगको प्रकृतिको आधारमा विधिहरूको प्रयोग गरिन्छ ।

काउन्सिलिङ पार्ट कमजोर
नेपालमा जुनसुकै कुरामा पनि परामर्शको कमी रहेको छ । जस्तै महिलाको पाठेघरको क्यान्सरमा पनि यो समस्या बढी मात्रमा देखिएको छ । चिकित्सकले धेरै बिरामी हेर्नुपर्दा पनि राम्रोसँग रोगको बारेमा परामर्श दिन सकिरहेको छैन । जसका कारण एक जना डाक्टरले ५० जना बिरामी हेर्नुपर्ने बाध्यता छ । यसले गर्दा बिरामीलाई रोगका बारेमा राम्रोसँग जानकारी दिन सकिन्न । पाठेघरको क्यान्सरको परीक्षण गर्नका लागि यौन सम्पर्क भएको ३ वर्षपछि या २१ वर्षको उमेरदेखि परीक्षण गर्न सकिन्छ तर यो कुराको बारेमा नै महिलादिदी बहिनीहरू थाहा छैन । परामर्श कम भएको हो कि भन्ने पनि खड्केको छ ।
उपचार शुल्कको कुरा गर्ने हो भने सुरुवातको पाठेघर र पाठेघरको मुखको क्यान्सरमा खासै खर्च लाग्दैन ।

तर पाठेघरको डिम्बासयको क्यान्सर अलि महँगो नै हुन्छ । किनभने यसमा किमोथेरापी दिनुपर्ने हुन्छ । किमो पनि धेरै लिनुपर्ने र डिम्बाशयको क्यान्सर फर्किन सक्ने सम्भावना अरू क्यान्सरभन्दा बढी देख्छौँ । त्यसकारण यो क्यान्सरको उपचार महँगो हुन्छ ।

रोकथाम
—२० वर्षभन्दा कम उमेरमा विवाह गर्नु हुँदैन ।
— महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष प्याप स्मेयर परीक्षण गराउनुपर्छ ।
— धेरै जनासँग यौनसम्पर्क गर्नु हँुदैन ।
— गुप्ताङ्गसम्बन्धी रोगहरूको समयमै उपचार गराउनुपर्छ ।
— गुप्ताङ्ग सधैँ सफा राख्नुपर्छ ।
— धेरै सन्तान जन्माउनु हुँदैन ।
— चुरोट, बिँडी, खैनी, तमाखुजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन ।
—सुरुवातको अवस्थामा नै अस्पताल जानुपर्छ ।

(डाक्टर श्रेष्ठ क्यान्सर अस्पताल भक्तपुरमा कार्यरत छिन् ।)

          August 3, 2018 2:34 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...