‘घोषणापत्र अनुरुप नै काम गरिरहेको छु’


अर्जुनधारा नगरपालिका अन्तरगत ७ नम्वर वडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा पर्दछ । पूर्वको पशुपतिनाथका रुपमा चिनिने अर्जुनधारा जलेश्वर धाम यही भूगोलमा परेकोले यो धार्मिक वडा पनि हो ।

स्थानीय तहको चुनावमा यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासीहरुको ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट नवराम ढुङ्गाना (नविन) र नेकपा एमालेबाट रमेश त्रिखत्रीको प्रतिष्पर्धा यस्तो थियो कि १२ मतको अन्तरमा जित हार हुनपुग्यो ।

ढुङ्गानाले ९४२ मतका साथ वडाध्यक्ष बन्ने अवसर पाए । आज जनप्रतिनिधि भई काम थालेको एक वर्ष पुगेको सन्दर्भमा हामीले वडाध्यक्ष नवराम ढुङ्गाना (नविन)सँग एक वर्षको कार्यअवधिमा गरेका काम र बाँकी ४ वर्षमा गर्ने कामको योजनाबारे सम्वाद गरेका छौं ।

निर्वाचित जनप्रतिनिधि भएर कार्य गर्न सुरु गर्नुभएको एक वर्ष पूरा भएको छ । यो अवधिमा कस्ता कस्ता कामहरु सम्पादन गर्नुभयो ?

त्यस्तो खासै उल्लेखनीय कार्य गरिएको छौन, एकै वर्षमा त्यस्तो काम गर्न सम्भव पनि छैन । तर पनि केही विकास निर्माणका काम भएका छन् । दुईवटा कल्भर्ट निर्माण गरियो, साना बाटाहरुलाई ४० फुटसम्म चौडा बनाइयो । ग्राभेलको काम गरियो, ढल निकास गरियो, युवाका लागि पत्रकारिता र लेखा तालिम सञ्चालन गरियो । किसानका लागि च्याउ खेती तालिम सञ्चालन गर्यौं । यिनै कामहरु गरेर एक वर्ष बितेको छ ।

के तपाईंले चुनावताका गरेका प्रतिवद्धता र जारी गरेको घोषणापत्र अनुरुप नै कार्य सञ्चालन गर्दै हुनुहुन्छ कि ?

हामीले सम्पादन गरेका सबै कामहरु हाम्रो घोषणपत्रमा उल्लेख गरिए जसरी नै गरिरहेका छौं । खानेपानी, स्वास्थ्य, खेल मैदान निर्माण, स्वरोजगार कार्यक्रम आदि सबै कांगे्रसले ल्याएको घोषणपत्र अनुसार नै सम्पन्न गरेका छौं ।

के घोषणापत्रमा उल्लेख भएका सबै कार्य पूरा गर्न सम्भव छ ?

सबै कार्य पूरा गर्न बजेटले नपुग्ला तर आवश्यकता अनुसार क्रमिकरुपमा पूरा गर्दै लैजान सकिन्छ ।

वडाध्यक्ष भनेका स्थानीय सरकारका मन्त्री हुन् रे ! पालिका सरकारबाट तपाईंले पनि कुनै जिम्मेवारी पाउनु भएको छ ?

वडामा गरिने सम्पूर्ण कार्यको जिम्मेवारी आफूले लिएको छु, जनताले सुम्पिएका छन् । वडाका सबै कार्यलाई सञ्चालन गर्न र वडा परिचालन गर्ने बाहेक नगर कार्यपालिकाबाट त्यस्तो अन्य जिम्मेवारी तोकिएको छैन ।

आगामी वर्षको योजना के के बनाउनु भएको छ ?

आगामी दिनमा डिएसपी मिलडाँडादेखि पौडेल चोकसम्म जाने बाटो ४० फुटको बनाउने, त्यसको सिरानमा निर्माण भएको बाटो कालोपत्रे गर्ने, पिपलचोकदेखि बिरिङ पूलसम्मको बाटो निर्माण गर्ने, स्वच्छ खानेपानी वडाका सबैतिर उपलब्ध गराउने, शिक्षा, मठमन्दिर, विद्युतमा सबै शीर्षकमा गरी एक करोड ११ लाख ५० हजार विनियोजन गरेका छौ ।

२० वर्ष पछि स्थानीय सरकार गठन हुँदा नगरबासीले कस्तो राहत महसुुुुस गरेका छन् ?

आफूले नै भोट दिएर पठाएको व्यक्तिले स्थानीय आवश्यकता बुझेको हुनाले जनविचार अनुसार कार्य गरिने भएका कारण ठूलो आशा भरोसा गरेका छन् । यस्तो भरोसालाई साकार बनाउने मैले पनि बाचा गरेको छु ।

प्रतिपक्षीबाट कस्तो व्यवहार र सहयोग पाउँदै हुनुहुन्छ ?

पार्टीको भन्दा पनि समाजको प्रतिनिधित्व भएर होला सोचेको भन्दा धेरै सहयोग गर्नु भएको छ ।

पूर्वको पशुपतिनाथ भनिने अर्जुनधारा जलेश्वरधामको विकास र बिस्तारका लागि कस्तो योजना बनाउनु भएको छ ?

यो निकै ठूलो रुपमा फैलिएको एरिया भएकाले यो वडाले नगरपालिकाले मात्र बजेट बिनियोजन गरेर लैजान सम्भव छैन । यसलाई प्रदेश सरकार र केन्द्रीय सरकारबाट बजेट बिनियोजन गर्न जरुरी छ । हामीले यसका लागि पहल गरिरहेका छौ । यो पूर्वको मात्र गहना नभएर देशकै प्रमुख धार्मिक र पर्यटकीय स्थल हो ।

प्रस्तुतिः ज्ञानु घिमिरे

          July 28, 2018 2:34 pm | अन्तर्वार्ता,स्थ्यानिय तह


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...