|| Sunday 22nd July 2018

प्रतिपक्षी दल कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोज्दैछ : प्रधानमन्त्री ओली

2 weeks अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको तर्क गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तर्क पेश गरेका हुन् ।

“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भनेका छन्, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागू गर्छ, यसमा आत्तिनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर, जुम्लामा भोकै सुत्न लगाएर, काठमाडौंका सडकमा केही मान्छे कराइरहेको जिकिर पनि गरेका छन् । “बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्” प्रधानमन्त्रीले थपे, ‘शान्ति प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने छ ।’

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसी, उपकुलपति कोइरालाजस्ता विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह पनि गरेका छन् । “हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नु पर्छ” प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिँदै भनेका छन् “अरु चाहिँ साउनको सिस्नुजस्तो फस्टाउने अनि हामीचाहिँ ओइलाउने हुन्छ ?”

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिएका छन् । “विधि, विधान, कानून संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?” प्रधानमन्त्रीको प्रश्न छ ।

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको अडान छ ।

“कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं” प्रधानमन्त्री ओलीले भनेका छन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति छ ।

“सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र ?” प्रधामन्त्रीले प्रश्न गरेका छन् । ‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने’ प्रधानमन्त्री ओलीको दृढता छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृती नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । संस्कृत विश्वविद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने पनि प्रधानमन्त्री ओलीले प्रष्ट्याएका छन् । “अहिलेका हल्लाले यो छानविन रोकिँदैन” प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

निर्वाचन आचारसंहिता लागू भए पछिका राजनीतिक नियुक्तिहरु खारेज गरिएको स्पष्ट पार्दै उनले भनेका छन्, “संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको हो ।”

संसदीय दलको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाललगायतको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

          July 9, 2018 6:11 pm | टप,राजनीति


प्रतिकृयाहरू :

समाचारहरु: