|| Sunday 22nd July 2018

स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !


जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक भएन । आमा बाबुले हुकाई, बढाई, पालनपोषण गरी जवान बनाउनासाथ आफ्नो देश, नेपाल आमा र आफैलाई जन्म दिने आमालाई कसरी छाडेर जान सक्छन हँ हाम्रा युवा ? आफ्नो आमा बुबाप्रति तिनको कुनै दायित्व हुँदैन ? दूघको भारा र माटोको ऋण पनि नतिरी यसरी विदेशिन्छन् अचेल हाम्रा युवा ।

यो क्रम असाध्यै बढेको छ अचेल । विशेषगरी सुविधा सम्पन्न देशमा आरामदायी भोगी विलाशी जीवन जिउने, प्रशस्त धन आर्जन गर्ने आशामा २० देखि ४० वर्षसम्मका हाम्रा युवा, जोसँग अपार शक्ति, असिमित क्षमता र विशाल मस्तिष्क छ, त्यस्ता जनशक्ति युरोप, अमेरिका पलायन हुँदैछन् । गरीब देशका धनी युवा उतै पढ्ने र उतै बस्ने गरी चटक्कै बूढा बा–आमा र रोइरहेकी नेपाल आमालाई एक्लै पारेर युरोपियन भोग विलाशमा रमाउन पुग्छन् । देशमा राम्रो पढाई नहुने र काम गरिखाने वातावरण छैन भन्ने बहानामा अष्ट्रेलिया, क्यानडा, अमेरिका जस्ता देशहरु यिनहरुको मुख्य आकर्षण बनेको छ ।

  • मलाई यस्तो लाग्छ, ती लाखौं नेपाली युवा जो विदेशिएका छन् तिनले के पढ्लान ? पढाई त विदेशिने बहाना मात्रै हुनेगर्छ । डलर कमाउने आशामा र सुख सुविधा भोगको तृष्णामा स्वदेशबाट लाखौं खर्चिएर विदेशिन्छन् । अनि समग्रमा, आफैंलाई निखारी रहेछन्, रित्याइ रहेछन्मात्र होइन, कतिपय अवस्थामा अस्तित्व नै समाप्त पारिरहेछन् ।

मातृभूमिको हावापानी, अन्न, जल, माया र ममताले हुर्केको एउटा किशोर स्वास्थ्य युवावस्था टेक्नै लाग्दा युरोपको सपना देख्न थाल्छ । अनि ऋणपान गरी खेत बन्धक राखेर वा बेचविखान गरेर परिवारलापई ऋणमा डुबाएर विदेशिन्छ । स्थायी बसोबास गर्न स्वदेश नै नफर्कने गरेर धेरै उतै भासिएका छन् । ३०–४० लाख रुपैयाँ लगानी गरेर पढ्ने निहुँ गरी विदेशिएका हाम्रा युवा उता के गर्दैछन् ! हामीमध्ये धेरैलाई थाहा भए पनि बाहिर ओकलिरहेका हुँदैनौं ।

महङ्गा कलेजमा एड्मिसन लिएर नेपाली युवा विदेशमा रगत र पसिना बगाइरहेछन् । आफ्ना सिर्जनशील हात र दिमाग पराइको देश निर्माणमा लाजै नमानी खर्चिन्छन् । स्वदेशमा कुनै काम नदेख्ने, कामका नाममा सिन्को नभाँच्ने र श्रम गर्नै लाज मान्ने हाम्रा युवाशक्ति उता गएपछि जस्तोसुकै श्रम गर्न तयार हुन्छन् । पैसाको निम्ति जति नै निकृष्ट कर्म गर्न पनि पछि हट्दैनन् । राम्रो वौद्धिक र मानसिक क्षमतावान युवा पनि सर सफाइको काम, होटलमा मजदुरीदेखि उद्योग, व्यवसाय वा कारखानाहरुमा अत्यन्त तल्लोस्तरका शारीरिक श्रम गरिरहेको सुनिन्छन् ।

तीसँग अन्तरनिहित सिर्जनाशक्ति यसै उसै ओइलाएर जान्छन् । अवसर पाएमा प्रतिभावना र उच्च दक्ष प्राविधिक जनशक्ति नै भए पनि तिनको सेवा उतै विदेशले प्राप्त गर्दछ । यता स्वदेश तिनकै पर्खाइमा तड्पिइरहन्छ । उनीहरु विदेशीको सेवा र तिनैको देश निर्माणमा दस नङ्ग्रा खियाउँदै पौरखी पाखुरी बेचिरहेछन् । युवा शक्ति र जोश जाँगरलाई बन्धकी राखेर या रगत पसिना विदेशी डलरमा बेचेर स्वाभिमान बिनाको जीवन बाँच्न पाउँदा पनि मख्ख छन् ती लाखौं नेपाली युवा ।

लाखौंको संख्यामा युरोप, अमेरिका र अष्ट्रेलियामा हाम्रा नेपाली युवा शरीर बेचेर डलर कमाउँछन् । खास कुरा केहो भने ती आमा बावा, अभिभावक नै आफ्ना सन्तान विदेश पठाउन मरिहत्ते गर्छन । बरु ऋणमा डुब्न राजी छन् तर छोराछोरी जसरी भए पनि विदेश नपठाई तिनको चित्तै बुझ्दैन । मलाई यस्तो लाग्छ, ती लाखौं नेपाली युवा जो विदेशिएका छन् तिनले के पढ्लान ? पढाई त विदेशिने बहाना मात्रै हुनेगर्छ । डलर कमाउने आशामा र सुख सुविधा भोगको तृष्णामा स्वदेशबाट लाखौं खर्चिएर विदेशिन्छन् । अनि समग्रमा, आफैंलाई निखारी रहेछन्, रित्याइ रहेछन्मात्र होइन, कतिपय अवस्थामा अस्तित्व नै समाप्त पारिरहेछन् ।

(लेखक प्रसाईं मनकामना बहुमुखी क्याम्पस बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)

          July 8, 2018 3:45 pm | Uncategorized,विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु: