सुकेटारमा सीता एयरलाइन्सको उडान सुरु

January 24, 2023 4:33 pm

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो ।

सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको हो । गत साताको बुधवारदेखि नै उडान सुरु गर्ने तयारी रहेको भए पनि सोमबारदेखि मात्र उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले जनाएको छ । विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर ९एटीसी अंगत यादवले सीता एयरको जहाजले सोमबार काठमाडौँ–ताप्लेजुङ उडान गरेको जानकारी दिनुभयो ।

एटीसी यादवका अनुसार यसअघि माघ ४ गते बुधवारदेखि सुरु हुने गरी तय भएको उडान बाक्लो हुस्सु र कुहिरोसहित प्रतिकूल मौसमका कारण अवरुद्ध हुन पुगेको थियो । यता उडान सुरु भएसँगै अब प्रत्येक साताको सोमबार, बुधवार र शुक्रवार काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सञ्चालन हुने सीता एयरलाइन्सका ताप्लेजुङ प्रतिनिधि श्रीप्रसाद खड्काले जानकारी दिनुभयो ।

प्रतिनिधि खड्काका अनुसार भाडादर पनि साबिकभन्दा घटाएर समायोजन गरिएको छ । उहाँले ताप्लेजुङ–काठमाडौँ भाडादर नौ हजार १०० रुपियाँ र काठमाडौँ–ताप्लेजुङ नौ हजार तीन सय रुपियाँ कायम गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रत्येक साताको बुधवार ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङसमेत उडान गर्ने तयारी रहेको सीता एयरलाइन्सले जनाएको छ ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले पनि प्रत्येक साताको सोमबार, बुधवार र शुक्रवार तीन दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । दुई हजार ४०० मिटरको उचाइमा अवस्थित सुकेटार विमानस्थलमा बाक्लो हुस्सु र कुहिरोका कारण मौसम प्रतिकूल हुँदा बेला–बेलामा उडान अवरुद्ध हुने गरेको छ ।

          January 24, 2023 4:33 pm | लोकप्रिय,विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: