नेविसंघ झापा नेतृत्वमा चरम विवाद

January 21, 2023 2:34 pm

झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो ।

वर्तमान जिल्ला सभापति भुवन बुढाथोकीले आफू जिम्मेवारीमा रहेकै समयमा मलाई कुनै जानकारी नै नगराई षड्यन्त्रपूर्वक ढंगले एक पक्षीयरुपले अध्यक्ष तोकिएको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छः नेपाल विद्यार्थी संघ, झापा जिल्ला समितिलाई पूर्णता प्रदान गर्ने क्रममा विशुद्द एक पक्षीय पक्षपोषण अनि षड्यन्त्रकारी तरिकाले नेपाल विद्यार्थी संघको नाममा पत्र आएको कुरा हाम्रो सिंङ्गो निर्वाचित समितिलाई कुनै पनि हालतमा मान्य हुने छैन । र, यस्तो कार्यको घोर निन्दा एवम् भत्सर्ना गर्दै कुनै पनि भ्रममा नपरी मेरो नेतृत्वमा रहेको झापा जिल्ला कार्य समिति यथावत् नै रहेको भन्ने उल्लेख छ ।

आसन्न स्ववियु निर्वाचनमा सकृयतापूर्वक भाग लिनसमेत स्ववियु रहेका जिल्लाका सबै क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई आव्हान गरिएको छ ।

नेविसंघ केन्द्रीय कार्यालयले माग गरेको सिफारिस अनुसार नेपाली काँग्रेस झापाले निज संजय निरौलाको नाम सभापतिमा सिफारिस गरिएको पार्टी सभापति देउकुमार थेवे हस्ताक्षरित सिफारिस पत्रमा उल्लेख छ । निवर्तमान सभापति राजेन्द्र उप्रेतीले ३२ वर्षे उमेर हद नाघेको कारण झापाको रिक्त अध्यक्ष पदमा जिल्ला पार्टीको सिफारिस अनुसार झापा अध्यक्ष तोकिएको जनाएको छ ।

आगामी तीन महिना भित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्नु भन्ने निर्देशन पत्रमा दिएको छ । पार्टीभित्र देखिएको गुटको कारण नेविसंघ झापामा विवाद आउँदै गर्दा सिटौला पक्षले राजेन्द्र उप्रेती र देउवा पक्षले भुवन बुढाथोकीलाई सभापति मान्दै आएको थियो ।

          January 21, 2023 2:34 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,लोकप्रिय

प्रतिकृयाहरू :

समाचारहरु: