उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

January 20, 2023 4:51 pm

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

          January 20, 2023 4:51 pm | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: