फोहोर वर्गीकरणका लागि बिर्तामोड नगरपालिकाको वडास्तरमा सचेतना सुरु

January 2, 2023 11:04 am

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ ।

नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो ।
फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ ।

सोही सिलशिलामा आइतबार वडा नं. ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको बीचमा छलफल गरिएको छ ।

छलफलका क्रममा स्रोतबाटै कुहिने, नकुहिने प्लाष्टिकजन्य र धातुजन्य गरी तीन भागमा फोहोरको वर्गीकरण गर्नुपर्ने नगर प्रमुख प्रसाईको भनाई छ । जथाभावी रुपमा फालिएको फोहोरले वातावरण दुषित हुनुका साथै नगरको पहिचान नै विग्रिएको उनले बताइन् ।

सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई नियन्त्रण गर्न टोल विकास संस्थाका प्रतिनिधि पनि जागरुक हुनुपर्ने नगरप्रमुख प्रसाईको धारणा छ । अव्यवस्थित रुपमा फालिएको फोहोरले मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने भएकोले स्वयम् सचेत हुनपर्छ ।

उनले थपिन् – ‘मानव स्वास्थ्यको रक्षाका लागि पनि फोहोरको वर्गीकरणसहित व्यवस्थापन जरुरी रहेकोले नीतिगत छलफललाई अघि बढाएका हौं ।’

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई नविकरणीय उर्जामा तत्कालै फोहोर व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । उनले सो संरचनामा फोहोर व्यवस्थापन गर्न वर्गीकरण आवश्यक रहेको बताए ।

कनकाई नविकरणीय उर्जामा कुहिने फोहोरबाट ग्यास, नकुहिने प्लाष्टिकजन्य फोहोरबाट पेवर्सजन्य निर्माण सामग्री उत्पादन गरिने उनको भनाई छ ।

यस्तै, वडाध्यक्ष कन्दङ्वाले नगरलाई सफा र स्वच्छ बनाउन फोहोर वर्गीकरण गरेर उचित व्यवस्थापनका लागि काम थालिएको बताएका छन् । उनले गाउँ, नगर सफा राखेमा मात्रै देशसमेत सुन्दर हुने भन्दै वडाबासीलाई फोहोर वर्गीकरण गरेर राखिदिन आग्रह गरेका छन् ।

नगरपालिकाले पहिलो चरणमा बढी फोहोर उत्पादन हुने वडाहरुमा वर्गीकरणका लागि नीतिगत छलफल अघि बढाएको हो ।

          January 2, 2023 11:04 am | मुख्य समाचार,लोकप्रिय,समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: