बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष


काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक र निर्माणकर्ता मिथिला पाण्डे हुनुहुँदो रहेछ । मिथिला पाण्डे हालको राष्ट्रपति विद्यादेवी भण्डारीको आमा हुनुभएको जानकारी पाइयो । उहाँका ३ छोरा र २ छोरी हुनुहुन्छ भन्ने जानकारी दिइयो ।

त्यो आश्रम वि.सं. २०५७ सालबाट शुरु भएको रहेछ । त्यहाँ छोराछोरी नभएका निसन्तान व्यक्तिहरु, सहारा विहीन व्यक्तिहरुलाई खानपिन र बसोबाससहितको आश्रय दिइएको रहेछ । हाल सो आश्रममा १२ जना बेसहारा र अनाथहरुले आश्रय लिइरहेको पाइयो ।

त्यस आश्रममा निर्माण भएको सिसमहल आश्चर्यजनक रहेछ । पूर्ण चमत्कारी सिसाले निर्माण गरिएको सो महलको गेटबाट भित्र प्रवेश गरेपछि बाहिर नजाउँ जस्तो लाग्ने रहेछ । सञ्चालिका तथा आश्रमको अध्यक्ष मिथिला पाण्डे हाल ८३ वर्षको हुनु हुँदोरहेछ । तथापि उहाँ शारीरिक रुपमा तन्दुरुस्त र सक्रिय जीवन बिताइरहेको पाइयो । उहाँसँग केही बेर भलाकुसारी गर्ने अवसर मिल्यो ।

“राष्ट्रपति विद्यादेवी भण्डारीको आमालाई बृद्धाश्रममा लगेर राखिएको रहेछ, आफू राष्ट्रपति तर आफ्नै आमाको विजोग, यस्ता पनि छोरी हुँदारहेछन्, आमाको कन्तविजोग पारेर आफूचाहिँ रजाइ गर्ने, यस्ताबाट जनताले के अपेक्षा गर्ने ?” आदि इत्यादि भनेका कुरा नसुनेको होइन । म आफैं मंसीर १८ गते उहाँ बसेको आश्रममा पुगी स्वयम् आमासँगै भलाकुसारी गरें । सो आश्रममा उहाँलाई कसैले लगेर राखेको होइन रहेछ ।

आश्रम निर्माणदेखि सम्पूर्ण संरचना आमा मिथिला पाण्डेले नै निर्माण गरी अनाथ, बेसहाराहरुलाई सेवा गर्ने उद्देश्य राखी सञ्चालन गर्नुभएको रहेछ । यसबारे कसैले राष्ट्रपतिलाई दोषी ठहर्याई भ्रमको खेती नगरे हुन्छ । आमाले स्वेच्छिक रुपमा आश्रम निर्माण गरेर सञ्चालन गर्नुभएको कुरा आमाकै मुखबाट सुनेपछि म पनि छर्लङ्ग भएँ ।

बराह क्षेत्र मन्दिर जाने क्रममा भूमिगत सुरुङ्ग खनी मोरङ्ग सिँचाइ आयोजना निर्माण गरेको पाइयो । वरिपरि पहाडले घेरेको र बीचमा फराकिलो बगर रहेको क्षेत्रमा बराहक्षेत्र मेला लाग्ने स्थान, पितृश्राद्ध गर्ने स्थल र अन्य विविध धार्मिक पूजापाठ गर्ने स्थान रहेछन् । सप्तकोशी नदी र कोका नदीको बीचमा ठूलो बगर रहेको रहेछ । सो क्षेत्रको अवलोकन गरियो । बराह क्षेत्रको महत्वपूर्ण कुरा भनेको त्यहाँ रहेको ढुङ्गा उचाल्नु पनि रहेछ ।

प्राचीन किंवदन्ती अनुसार त्यो ढुङ्गा उचाल्न सकियो भने ढाड कम्मर दुखाइदेखि अन्य रोगहरु समेत निको हुने र उचाल्न नसके अधर्मी मानिने धार्मिक विश्वास रहेको रहेछ । त्यहाँ भएको मन्दिर दर्शन गर्दै कोशीपूलबाट कुम्भस्थलको रमणीय दृश्य हेर्दै सप्तकोशी नदीपूर्वमा भारत सरकारले निर्माण गरेको सानो बाटो हुँदै प्रकाशपुर, कोशी गाउँपालिका—३, कुशाहामा कोशीटप्पु वन्यजन्तु आरक्षणको भ्रमण गर्दै हात्तीमा समेत सवार हुँदै मनोरञ्जन लिइयो । कोशीटप्पु वन्य जन्तु आरक्षण क्षेत्रको वरिपरि जङ्गली जनावर र हात्ती बाहिर निस्की गाउँ पसी बिगार नगरोस् भनेर विद्युतीय तारबार लगाइएको रहेछ ।

त्यसपछि रामधुनीतर्फ लागियो । रामधुनी बाबा, बनखण्डी मन्दिर रामधुनी ४ मा रहेछ । चारैतिर जङ्गल बीचमा रामधुनी । रामधुनीमा एउटा मुढा सल्काएको हुँदोरहेछ र चारैतिर ढोका बन्द हुँदोरहेछ । भित्र आगोको धुँवाको मुस्लो हुँदोरहेछ । हेर्न चाहने मानिसलाई ढोका खोलेर निःशुल्क देखाइदिँदा रहेछन् । त्यस ठाउँमा पशुपति क्षेत्रको सयौं बाँदर ल्याएर छोडेको रहेछ ।

रामधुनीभन्दा केही पर जङ्गल बीचमा रहेको तपस्यास्थल समेत अवलोकन गरियो । चतरादेखि केही माथिबाट सप्तकोशी नदीमा सञ्चालन हुँदै गरेको पानी जहाज (जेटबोट) को प्रस्थानविन्दु रहेछ । त्यहाँबाट पानी जहाज चढेर रमाइलो गरियो र त्यहाँबाट एकातिर उदयपुरको तल्लो भाग, अर्कोतिर धनकुटाको तल्लो भाग र अन्तिम विन्दु भोजपुरको तल्लो भाग सिम्लेसमेत अवलोकन गरियो । केही माथि ट्याक्सी स्टेण्ड रहेछ । ट्याक्सी चढेर भोजपुर बजार ओहोरदोहोर गर्दै गरेको दृश्य हेर्दै पुनः उही पानी जहाजबाट रमाइलो गर्दै र रमाइलो हेर्दै हाम्रो यात्रा यस पटकलाई समापन गरियो ।

यात्राका क्रममा महसुस गरेका केही मर्मस्पर्शी सन्दर्भहरु पनि रहे । बराहक्षेत्र नगरपालिकामा समाजसेवी पहिलेदेखि सामाजिक क्षेत्रमा खटेर काम गर्ने युवा जोश र जाँगर भएका मिलनसार युवक रमेश कार्की लोकप्रिय मतले नगरप्रमुखमा विजयी हुनुभएको रहेछ । उहाँको आर्थिक अवस्था र घरसमेत सामान्य रहेको भेटियो । बराहक्षेत्र जयनगर रेल लाइन निर्माण गरी विगतमा रेल सञ्चालन भएको तर हाल रेलको लिक रहेको ठाउँमा सुकुम्बासीले घर निर्माण गरी बसोबास गरेका रहेछन् । सोही बस्तीमा नगरप्रमुख रमेश कार्कीको पनि घर रहेछ ।

हाल युवालाई अगाडि बढाउन, मुलुकको नीति निर्माण तहमा पुर्याउन देशभर लहरै चल्न शुरुवात भएको छ । बराहक्षेत्र नगरपालिकामा पनि नगरप्रमुख रमेश कार्की समक्ष धेरै अवसर र चुनौतिहरु रहेको पाइयो । चुनौतिको सामना गर्दै अवसरबाट फाइदा लिँदै अगाडि बढ्न सक्नु भयो भने भविष्य उज्वल छ । जनताका माग, आशा र अपेक्षाहरु अत्यन्तै धेरै छन् । सडक बत्ती विस्तार गर्नुपर्ने, बाटोहरुको स्तरोन्नति गर्नुपर्ने, फुसका घरहरुलाई विस्थापन गरी नयाँ घर निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

नगरपालिका भएता पनि अधिकांश मानिसहरु व्यापार व्यवसायमा भन्दा कृषिमा आत्मनिर्भर भएकाले कृषि क्षेत्रलाई सुदृढ बनाउनु पर्ने, सिंचाइ नपुगेको ठाउँमा सिँचाइको व्यवस्थापन गर्नुपर्ने, मल बिऊ अभाव हुन नदिने, आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने, सब्जी खेतीमा ध्यान पुर्याउनु पर्ने, बंगुरपालन, गाईपालन, बाख्रापालनका कार्यहरुमा ध्यान पु¥याउनु पर्ने देखिन्छ ।

नगरक्षेत्रमा खानेपानी नपुगेको ठाउँमा खानेपानीको व्यवस्थापन गर्नुपर्ने, सामुदायिक विद्यालयहरुको पठनपाठनमा स्तरोन्नति गर्नुपर्ने, जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने आदि जनताका अपेक्षाहरु पूरा गर्दै अघि बढ्नुपर्ने नगरप्रमुख माथि ठूलो चुनौति रहेको देखियो । आफ्नो नगरमा उद्योग–धन्दा, कल–कारखाना स्थापना गरी युवालाई रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्नुपर्ने लगायतका धेरैभन्दा धेरै कामहरु बाँकी रहेका छन् ।

नगरको बजेट अपर्याप्त हुने हुँदा प्रदेश र संघीय सरकारबाट बजेट ल्याएर धमाधम विकास निर्माणको काम गर्नुपर्ने देखिन्छ । विभिन्न कार्यक्रमहरुको उद्घाटन शिलान्यास आदिमा समय दिनुभन्दा जनताको र नगरको काममा ध्यान दिनु उहाँले मात्र होइन देशैभरिका सबै जनप्रतिनिधिहरुले ध्यान दिनसके उहाँहरुको व्यक्तिगत प्रतिष्ठा र देशको समेत उन्नति हुनेछ ।

          December 16, 2022 12:36 pm | मुख्य समाचार,विचार/ब्लग,समाज,साहित्य,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: