मलेसियास्थित नेपाली दुतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

September 28, 2022 2:11 pm

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताएका हुन् ।

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको प्रतिवद्धता छ । सो अवसरमा राजदुत पौडेलले मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुसंग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दुतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको जानकारी गराए ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाई थियो ।

सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिटेन्स पठाउन आग्रह गर्दै हुन्डी लगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने स्पष्ट पारे ।

मुलुकको हितका लागि नेपाल–मलेसिया बीचको सम्बन्ध समधुर बनाउन आफू लागि पर्ने उनले बताए । क्वालालम्पुर स्थित एक होटेलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायतले पौडेललाई स्वागत गरेका थिए ।

          September 28, 2022 2:11 pm | अर्थतन्त्र,परदेश (प्रवास),मुख्य समाचार,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: